अविरल वर्षाले भक्तपुरको विभिन्न स्थान डुबानमा (तस्बिरहरु)
भक्तपुर । गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले रातोपाटीलाई बताए । सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।
यता सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ । गएराति पौने ३ बजेतिर ठाडो खोलामा आएको बाढी कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा पसेको जिल्ला प्रहरी प रिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।
भक्तपुरका चाँगुनारायण नगरपालिका–८ स्थित साइन उडन फर्निचर उद्योगमा बाढी पसेको छ । बुधवार बिहान ४ बजेतिर ब्रह्मायणी खोलामा आएको बाढी उद्योगमा पसेर करिब १० लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।





पालिका संचारकर्मी 






