१४ सदस्यीय बागमती सरकारमा मुस्किलले २ महिला
हेटौंडा । १३ मन्त्रालय रहेको बागमती प्रदेशमा भाग पुर्याउन मुख्यमन्त्रीसहित १४ मन्त्री नियुक्त गरिए । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा महिला भने २ जना मात्रै मन्त्री बनाइए । कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्री बनाउँदा १÷१ जना मात्रै महिलालाई अवसर दिएका हुन् । संविधानमा राज्य र राजनीतिक पार्टीमा महिलाको प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
तर दलहरूले आफैँले बनाएको संविधानको व्यवस्था कार्यान्वयन गर्न भने हिचकिचाइरहेका छन् भन्ने एउटा उदाहरण बागमती प्रदेश सरकार पनि हो । बागमती मन्त्रिपरिषद्मा ३३ प्रतिशतको ठाउँमा महिलाको सहभागिता मुस्किलले १५ प्रतिशत मात्र भएको छ । कांग्रेसबाट हरिप्रभा खड्गी सामाजिक विकास मन्त्री बनेकी छन्। पहिलो र दोस्रो सूचीमा नअटाइएकी खड्गी बल्ल–बल्ल तेस्रोचोटिमा अटाएकी हुन् । यही साउन ९ गते बुधबार मुख्यमन्त्री बहादुरसिंह लामा र ९ मन्त्रीलाई शपथ खुवाइएको थियो । त्यस दिन कांग्रेसबाट खड्गी पनि मन्त्रीको शपथ खान कार्यक्रममा उपस्थित थिइन् । तर शपथका लागि बोलाउने क्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव कृष्णबहादुर राजलवटले कांग्रेसबाट मधुकुमार श्रेष्ठ, कुन्दनराज काफ्ले र श्यामबहादुर खड्काको मात्रै नाम पढे । स्रोतका अनुसार खड्गीलाई पनि त्यस दिन मन्त्री पदको शपथ खान आउनू भन्ने खबर कांग्रेस बागमती संसदीय दलबाटै गएको थियो ।
त्यसो त उनीसँगै कांग्रेसकै अर्की महिला सांसद सुना परियार पनि शपथ खान तयार भएर बसेकी थिइन् । सरकारमा दलित समुदायको पनि सहभागिता गराउने सम्भावना भएको भन्दै उनलाई पनि तयार भएर आउन भनिएको थियो । तर त्यो दिन मन्त्रीको सूचीमा दुवै महिला परेनन् । तर कांग्रेसको कोटा बाँकी नै रहेकाले अर्को दिन आफूहरूलाई मन्त्री बनाइनेमा उनीहरू आशावादी नै थिए ।
पहिलो दिन बुधबारको शपथ कार्यक्रम सकिएपछि मुख्यमन्त्री लामाले अब मन्त्रिपरिषद् विस्तार आइतबार मात्रै हुने भनी सबै सांसदलाई हेटौँडाबाट बिदा गरिदिए । तर त्यसको भोलिपल्टै बिहीबार प्रदेश प्रमुख कार्यालयमा कांग्रेसबाट थपिने मन्त्रीको सूची पुग्यो । त्यसमा पनि न खड्गीको नाम थियो न परियारको । बरु कांग्रेसभित्र पुरुष नेताबीच नै भागबन्डाको विवाद हुँदा त्यस दिन शपथका लागि तयार भइसकेको कार्यक्रमै रद्द गर्नुपर्यो ।
अर्को दिन शनिबार कांग्रेसले बाँकी कोटा ३ को ठाउँमा ४ जना मन्त्रीको नाम प्रदेश प्रमुखकहाँ पठायो। बल्ल त्यस दिनको सूचीमा भने खड्गीको नाम पर्यो। तर परियारलाई समेटिएन । शनिबार खड्गीले सामाजिक विकास मन्त्रीका रूपमा शपथ खाइन् । काठमाडौँ महानगरपालिकाकी पूर्वउपमेयरसमेत रहेकी खड्गी प्रदेश सभामा काठमाडौँ निर्वाचन क्षेत्र ६ ९१० बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले उम्मेदवार निरेशलालसिंह महर्जनलाई हराउँदै प्रदेश सांसद बन्न सफल खड्गी मन्त्री बन्न भने निकै सकस परेको बताउँछिन् ।
नेकपा एमालेबाट प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी सुकमाया तामाङ भने मन्त्री बन्न त्यति कठिन नभएको बताउँछिन् । सिन्धुलीवासी तामाङ समानुपातिक प्रदेश सांसद हुन् । यसरी बागमती प्रदेशको १४ सदस्यीय मन्त्रिमण्डलमा २ जना मात्रै महिला भएका छन् । ११० सदस्यीय प्रदेश सभामा ४० महिला सांसद छन् । जसमा ५ जना प्रत्यक्ष निर्वाचित हुन् ।
कांग्रेसबाट मसिना खड्का र हरिप्रभा खड्गी, माओवादी केन्द्रबाट कुमारी मोक्तान र राधिका तामाङ तथा एकीकृत समाजवादीबाट रमा आलेमगर प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेका २७ सांसदमध्ये ९ जना महिला छन् भने कांग्रेसका कूल ३७ सांसदमा १३ महिला छन् । तर मन्त्रिपरिषद्मा महिलाको सहभागिता किन ३३ प्रतिशत पुर्याइएन ?
यो प्रश्नमा मुख्यमन्त्री बहादुरसिंह लामाले महिला सहभागीता कम भएको स्वीकार गरे । उता एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया पनि मन्त्री महिलापुरुषभन्दा पनि आवश्यकता हेरेर मन्त्रिपरिषद्मा पठाइएको तर्क गर्छन् ।

पालिका संचारकर्मी 






