कांग्रेस सांसद शर्माले भने– गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन होस्

पालिका संचारकर्मी
१३ श्रावण २०८१, आईतवार १६:४९

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट प्रकरणमा नेपाली कांग्रेसलाई लगाएको आरोपबारे छानबिन गर्न सरकारसमक्ष आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी दुवै प्रकरणका दोषी उम्कन नहुने बताएका हुन्। ‘गिरीबन्धुकोे ७० बिगा जग्गा कांग्रेस पार्टीले बेचेर खाएको हो भनेर सिंगो कांग्रेस पार्टीलाई आरोप लाग्यो। यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन् ।

तीनले छुट पाउनहुन्न। यो आरोपको छानबिन गरियोस्,’शर्माले भने। साथै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छानबिन हुनुपर्ने बताए। ‘नक्कली शरणार्थी प्रकरणमा पनि त्यही हो। निर्दोष कोही फस्नुहुन्न, दोषी कोही उम्कनुहुन्न। जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बेला कांग्रेस र माओवादीको सरकार थियो,’ उनले भने, ‘अहिले सरकारमा नेकपा एमाले पनि आइपुगेको छ। जो परीक्षामा सँगै सामेल छ। यसलाई निष्कर्षमा पुर्याउन सक्छौँ।’