बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

पालिका संचारकर्मी
१३ श्रावण २०८१, आईतवार १३:२०

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन्। गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका लामाले आउँदो मंगलबार सदनबाट विश्वासको मत लिन लागेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम नवनियुक्त मुख्यमन्त्री लामाको विश्वासको मतको प्रायोजनमा सदन आव्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठक दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ।नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामालाई विश्वासको मतको चिन्ता भने छैन। सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कुल ११० प्रदेश सभा सदस्य छन्।