बागमतीमा कांग्रेसको किचलो : मन्त्रालयभन्दा धेरै मन्त्री नियुक्त गर्दा सपथ नै स्थगीत
हेटौंडा । बागमती प्रदेशमा बल्ल–बल्ल सरकारको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसलाई ‘पहिलो गाँसमै ढुंगा’ भएको छ। पार्टीभित्रकै किचलोले मन्त्रिपरिषद् गठन भएको ३ दिन भइसक्दा पनि मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसको भागमा परेका अझै ३ मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन् ।
आन्तरिक भागबन्डा मिलाउन नसकेकै कारण शपथ खाने दिन बुधबार (साउन ९ गते) कांग्रेसले मुख्यमन्त्रीसहित आफ्नो पार्टीले पाएका ७ मन्त्री पदमध्ये मुख्यमन्त्री लामाबाहेक ३ मन्त्री मात्र नियुक्त गर्यो, त्यो पनि बिनाविभागीय। त्यस दिन एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रीलाई मन्त्रालय तोकेरै शपथमा पठाउँदा कांग्रेसले कुन्दन राज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा पठायो । बुधबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाइरहँदा मुख्यमन्त्री लामाको अनुहारमा खुसीको चमक होइन, तनाव देखिन्थ्यो । तारन्तार फोन कानमा लगाइरहेका उनलाई त्यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवादेखि अन्य शीर्ष नेतासम्मका फोन आएको उनीनिकट स्रोत बताउँछ ।
यसपछि भोलिपल्ट बिहीबार (साउन १० गते) बिनाविभागीय ती ३ मन्त्रीलाई मन्त्रालय तोक्दै बाँकी ३ मन्त्रीलाई शपथ खुवाउने योजना थियो । तर त्यस दिन पनि कांग्रेसलाई मन्त्री पदको भागबन्डा मिलाउन गाह्रो पर्यो । भागमा बाँकी संख्या ३, तर मन्त्री बन्न कस्सिए चार जना । त्यसपछि कांग्रेसले ७ मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्ने र एक जनालाई बिनाविभागीय मन्त्री बनाउनेगरी ४ जनाकै नाम राखेर प्रदेश प्रमुख कार्यालयमा पत्र पठायो । प्रदेश प्रमुख कार्यालय पनि सोहीअनुरूप शपथ खुवाउन तयार हुँदै बिहीबार साँझ ५:३० को समय तोक्यो ।
तर जब सत्ता साझेदार एमालेले आफूसँगको सहमतिभन्दा बाहिर गएर कांग्रेसले आफ्ना मन्त्रीको संख्या ८ पुर्याउँदै छ भन्ने सुइँको पायो तब एमालेले सहमतिभन्दा दायाँबायाँ नगर्न दबाब दियो । तर कांग्रेसभित्र कुरा मिल्नै सकेन र अन्ततः शपथ कार्यक्रम नै स्थगन गर्नपर्यो । एमाले बागमती संसदीय नेता जगन्नाथ थपलियाले कुनै पनि हालतमा मन्त्री संख्या थप्न नसकिने बताएका छन् । गठबन्धनको सरकारमा आफूखुसी मन्त्री नियुक्त गरिए कडा कदम चालिने चेतावनी उनले दिएका छन् ।
त्यसो त बाँकी मन्त्री नियुक्त गर्न मात्रै होइन, मन्त्रालय बाँडफाँटमा पनि कांग्रेसभित्र किचलो भइरहेको छ । कुन्दनराज काफ्लेलाई अर्थमन्त्री बनाउने सर्तमा बुधबार बिनाविभागीय मन्त्रीका रूपमा शपथ खुवाइएकामा बिहीबार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएपछि कांग्रेसका मन्त्रीहरूबीच रडाको मच्चिएको हो ।
बुधबार बिनाविभागीय मन्त्रीका रूपमा शपथ खाएका कांग्रेसका मन्त्रीहरूलाई बिहीबार मन्त्रालयको जिम्मेवारी दिइएको हो । तर बिहीबार पनि श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइँदा अझै मधुकुमार श्रेष्ठको मन्त्रालय तोक्न सकिएन ।
अर्थ मन्त्रालयमा प्रभात तामाङ, संस्कृति तथा पर्यटनमा विमल ठकुरी, युवा तथा खेलकुदमा मीनकृष्ण महर्जन र आन्तरिक मन्त्रीमा सुरजचन्द्र लामिछाने रहने गरी कांग्रेसबाट सूची आइपुगेको प्रदेश प्रमुख कार्यालयका सचिव राजलवटले बताए । यता कांग्रेस नेताहरू भने बिहीबार शपथ रोकिएकाले उक्त सूची फेरिन सक्ने बताउँछन् ।

पालिका संचारकर्मी 






