हेटौंडाको १९ वटै वडामा आँखाको पर्दा जाँच सुरु

पालिका संचारकर्मी
१० श्रावण २०८१, बिहीबार १३:५४

 हेटौंडा । दीर्घरोगकाकारण आँखाको पर्दामा समस्या आउन सक्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वटै वडामा आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको छ । हेटौंडा समुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा टोलविकास संस्थानगर समन्वय समितिको व्यवस्थापनमा नगरका सबै वडामा रहेका मधुमेहका बिरामी तथा ५० वर्ष उमेर समुहका नगरवासीको आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको हो ।

मधुमेह तथा उमेर हदका कारण आँखामा समस्या आउन सक्ने भन्दै मंगलबार हेटौँडा १९ सान्नानीटारबाट थालिएको हो । नगरमा १९ वटै वडाका विभिन्न ठाउँमा पुगेर आँखाको अवस्थाबारे जानकारी लिने र उपचारमा सहयोग गर्ने नीति उपमहानगरले लिएको बताइएको छ । शिविरका कारण घरबाट हिँडडुलका लागि असहज भएकालाई अस्पताल सम्म जानुपर्ने समस्या हटाउनका लागि कार्यक्रम वडातह सम्म लगिएको उपमहानगरपालिकाले जनाएको छ । वडाहरुमा सञ्चालन हुने शिविरका लागि उपमहानगरले अस्पताललाई आँखा जाँचको मेसिन सहयोग गरेको छ । कार्यक्रममा समुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले शिविर मार्फत आँखामा सुगर, प्रेसर सहित अन्य समस्याका बारेमा जानकारी गराइने बताए ।