ढुंगाले लागेर फास्ट ट्र्याकका कामदार थिङको मृत्यु

पालिका संचारकर्मी
१० श्रावण २०८१, बिहीबार १२:२५

मकवानपुर । तराई मधेश फास्ट ट्र्याक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसेडाँडास्थित फास्ट ट्र्याकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एकजना कामदारको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाराको निजगढ नगरपालिका घर भई हाल सुरुङमार्गमा काम गर्ने अन्दाजी २७–२८ वर्षका विमल थिङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, तनहुँ घर भई सुरुङमा काम गर्ने अन्दाजी वर्ष २७–२८ के राजु विक गम्भीर घाइते भएका छन् । उनको ढाड र कम्मरमा चोट लागेकाले अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । घाइते विकको हेटौंडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बुधबार दिउँसो साढे ३ बजेतिर फास्ट ट्र्याकको सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनीहरूलाई लागेको थियो ।