राजीनामा दिने तयारीमा बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

पालिका संचारकर्मी
६ श्रावण २०८१, आईतवार १५:५६

हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिने तयारी गरेका छन्। सदनबाट बिश्वासको मत नपुग्ने देखिएपछि संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यले बताए। बागमती प्रदेश सभाका मुख्य ठूला दुई दल कांग्रेस र एमाले मिलेर नयाँ गठबन्धनमा सरकार निर्माण गर्ने सहमती जुटेपछि मुख्यमन्त्रीले पदबाट राजिनामा दिने मनस्थितिमा पुगेका हुन्। गत असार २४ गते नेकपा एमाले सरकारबाट बाहीरिदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ३७ सीट रहेको नेपाली कांग्रेस, २७ सीट रहेको नेकपा एमाले र १२ सिट रहेको राप्रपाले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्ने सम्भावना नै नरहेपछि राजिनामाको विकल्प रोज्न लागेको स्रोत बताउँछ। मुख्यमन्त्री जम्मकट्टेलसंग नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजबादीको ७ र हाम्रो नेपाल पार्टीको २ मत गरी ३० मत मात्रै पक्षमा मत दिने देखिएको छ। २०७९ पौष २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री जम्मकट्टेलले यसअघि तीनपटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिइसकेका छन्।