मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन

मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन
पालिका संचारकर्मी
२३ जेष्ठ २०८१, बुधबार १२:४९

 काठमाडौं । सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो जानकारी दिएका हुन् ।विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सोही कमान्ड पोस्टले प्रेस बुलेटिन निकाल्ने उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुुसार विपद्‌मा खटिने पत्रकार स्वयम्‌सेवकहरूलाई आवश्यक तालिन दिन पनि लागिएको छ । जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको पनि उनले जानकारी दिए ।गृहमन्त्री लामिछानेका अनुसार यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान छ । यसअनुसार तयारी गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको पनि जानकारी दिए ।विपद्को पूर्व तयारीको विषयमा राजनीतिक दलहरूसँग समेत छलफल गर्न लागिएको उनले बताए । गृहमन्त्री लामिछानेका अनुसार शुक्रबार सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।