चीनबाट फर्किएपछि नारायणकाजीले भने– भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ

पालिका संचारकर्मी
१९ चैत्र २०८०, सोमबार १२:४७

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ । प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘विदेशमन्त्रीहरुले, विश्वमा देख्नुभयो भने आफ्नो देशमा बसेर कम, बाहिर बसेर बढी काम गर्छन् । यो मेरो भ्रमण पनि अत्यन्तै उपलब्धिमुलक भएको छ ।’ उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए । हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए । यस भ्रमणले नेपाल र चीन बीचको आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन तथा दुई मुलुकबीच विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री श्रेष्ठको विश्वास छ । उनका अनुसार नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छन् । मन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरु सन्चालनमा आइसकेको र कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी पनि गराए ।