बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थपियो

पालिका संचारकर्मी
१८ माघ २०८०, बिहीबार १६:०८

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाको छानबिनका लागि गठिन जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ फागुनसम्मका लागि म्याद थप गरेको हो ।

यसअघि एक महिनाको अवधि दिइएको थियो । एक महिनामा छानबिन नसकिएपछि गृह मन्त्रालयको प्रस्तावमा १५ दिन थपिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । जसमा पूर्वएआइजी अरुण बिसी सदस्य र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य सचिव छन् ।

इपिएस परीक्षासम्बन्धि विवादमा गत १३ पुसमा बालकुमारीमा युवाहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाएका थिए ।