पार्किङ निषेधको विरोधमा दोस्रो दिन पनि आन्दोलनमा न्युरोडका व्यापारी (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् । धर्मपथ, जुद्ध सालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेको उनीहरूले दाबी गरेका छन् ।
‘व्यवसायमा सङ्कुचन आएको यस समयमा पार्किङ निषेध गरिएको कदमले यहाँका स्थानीय तथा व्यापार व्यवसायी र सेवाग्राहीहरू निराश भएका छन् सो निर्णयले भोलिका दिनमा थप समस्या सिर्जना गर्ने निश्चित छ। काठमाडौँ महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरूप ‘रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि भनी रहँदा हाल यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायहरू पलायन हुन बाध्य हुनेछन् भने लाखौं व्यापारिक वर्ग तथा सोही स्थानमा कार्यरत व्यक्तिहरू बेरोजगार हुनेछन् ।’
“देशकै प्रमुख व्यवसायीक केन्द्र नयाँ सडक न्युरोड को व्यापार व्यवसाय धराशायी हुँदा स्वयम् काठमाडौँ महानगरपालिकाको राजश्व सङ्कलनमा पनि कमी र बाधा हुनुका साथै नेपाल सरकारको अधिकतम राजश्व सङ्कलन हुने यस क्षेत्रबाट राजश्व सङ्कलनमा पनि कमी आउने छ” आन्दोलनरत व्यापारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधवार उनीहरूले सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरू बन्द गरी न्युरोड जुद्ध सालिकमा भेला भई विरोधसभा आयोजना गरेका हुन् ।


पालिका संचारकर्मी 






