सरकार र बालकुमारी घटनाका मृतकका परिवारबीच चारबुँदे सहमति, आजै शव उठ्ने

पालिका संचारकर्मी
१७ पुष २०८०, मंगलवार १५:५५

सरकारले बालकुमारी घटनाका मृतकका परिवारसँग चारबुँदे सहमति गरेको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलपछि चारबुँदे सहमति भएको हो ।

चारबुँदे सहमतिसँगै मृतकको शव उठाउन पीडित परिवार सहमत भएका छन् । सहमतिको पहिलो बुँदामा मृतकका परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ ।

यस्तै दोस्रो बुँदामा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने उल्लेख छ ।

सहमतिको तेस्रो बुँदामा मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने उल्लेख छ । त्यस्तै, चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझ्ने सहमति भएको छ ।

मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमति भएको छ ।