हेटौंडामा मोटरसाइकल र स्कुटर दुर्घटनाः दुईजनाको मृत्यु

पालिका संचारकर्मी
२५ फाल्गुन २०७९, बिहीबार ११:३९

मकवानपुर । हेटौंडामा बुधबार मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

हेटौंडा–फापरबारी सडक खण्ड अन्तर्गत हेटौंडा १७ हटियास्थित कठायतचोकमा हेटौंडाबाट जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका ४ बस्ने २८ वर्षीया जिना लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

भन्जनको हेटौंडा अस्पतालमा र लामाको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते रहेका छन्। मोटरसाइकलको पछाडि रहेका हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलानको हेटौंडा अस्पतालमा र स्कुटरको पछाडि रहेका मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरका २४ वर्षीया ललिता थापा मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाको कारण बारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी कार्कीले जानकारी दिए।