नयाँबस्तीबाट ७९ वर्षीय वृद्ध सम्पर्कविहीन

पालिका संचारकर्मी
१० भाद्र २०८३, बुधबार १९:०१

हेटौंडा । बहिनीको घरमा पाहुना आएका मकवानपुरगढी–५ का ७९ वर्षीय बुद्धिबहादुर रुम्बा चार दिनदेखि सम्पर्कविहीन भएका छन्।

रुम्बा हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित बहिनीको घरमा बसेका थिए। भदौ ५ गते दिउँसो करिब १२ बजे कसैलाई जानकारी नदिई घरबाट बाहिरिएका उनी त्यसपछि परिवारको सम्पर्कमा नआएका हुन्।

परिवारले आफन्त तथा सम्भावित स्थानमा खोजी गर्दा पनि रुम्बा फेला नपरेपछि उनका छोरा ज्ञानबहादुरले भदौ ९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले उनको खोजीका लागि प्रहरी सहायक निरीक्षक सोनालाल प्रसाद यादवको नेतृत्वमा टोली परिचालन गरेको छ। प्रहरीले नयाँबस्तीबाट करिब चार किलोमिटर दक्षिण–पश्चिम क्षेत्रसम्म खोजी गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार रुम्बाको वर्ण गहुँगोरो, शरीर मझौला र उचाइ करिब ५ फिट छ। कालो कपाल भएका उनी घरबाट निस्किँदा ब्याग बोकेका थिए।

रुम्बाबारे कुनै जानकारी पाउने वा उनलाई देख्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।