रसुवा बाढी : उद्धार, राहत र स्वास्थ्य सेवामा बागमती सरकार सक्रिय
हेटौंडा । रसुवामा आएको भीषण बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ। प्रभावित क्षेत्रको अवस्था बुझ्न मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारको टोली रसुवा जाने तयारीमा छ।
मुख्यमन्त्री थापामगरसँगै आर्थिक मामिला तथा योजनामन्त्री सरलसहयात्री, सामाजिक विकासमन्त्री गिरबहादुर तामाङलगायत अधिकारी टोलीमा सहभागी हुने जनाइएको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जनधनको क्षति, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिनेछ।
यसअघि बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी प्रभावितको तत्काल उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री थापामगरले घाइते तथा विपद्मा परेकाको उद्धार, स्वास्थ्य उपचार, खाद्यान्न, अस्थायी आवास र स्वच्छ खानेपानीको व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय र सरकारी संयन्त्रसँग समन्वय गरी आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्ने जनाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने तथा विस्थापित नागरिकका लागि आवश्यक व्यवस्थापन गर्ने कामलाई समेत तीव्रता दिइने भएको छ।

पालिका संचारकर्मी 






