जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको संख्या बढ्दै गएपछि सरकारले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले सूचना जारी गर्दै जेईको संक्रमण तथा मृत्युदर बढिरहेको भन्दै जोखिमप्रति सचेत रहन आग्रह गरेको हो। महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने जेईबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।
पहाडी जिल्लामा पनि संक्रमण पुष्टि
महाशाखाका अनुसार चालु वर्ष हालसम्म जापानिज इन्सेफलाइटिसका कारण २१ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै झापा जिल्लाका ६ जना रहेका छन्।
जेईको संक्रमण मुख्यतः तराई तथा भित्री मधेशका जिल्लामा बढी देखिने गरे पनि पछिल्लो समय पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं र सिन्धुलीलगायतका पहाडी जिल्लामा समेत जेईका संक्रमित भेटिएका छन्।
जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन स्वास्थ्य अधिकारीहरूले सुझाव दिएका छन्। विशेषगरी साँझ र बिहान लामखुट्टेको टोकाइबाट जोगिन शरीर ढाक्ने कपडा लगाउने, झुल प्रयोग गर्ने तथा घर वरपर लामखुट्टे वृद्धि हुने वातावरण नष्ट गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरिएको छ।
सरकारले जेईको जोखिमलाई मध्यनजर गर्दै संक्रमणको सम्भावित क्षेत्रमा विशेष सतर्कता अपनाउन र स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

पालिका संचारकर्मी 






