कैलाशका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सीएमसी हस्पिटलसँग सम्झौता

पालिका संचारकर्मी
७ भाद्र २०८३, आईतवार १६:२२

मकवानपुरको कैलाश गाउँपालिकाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन हेटौँडास्थित सीएमसी हस्पिटलसँग स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको छ। सम्झौतामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतिले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि गाउँपालिकाका नागरिकलाई हस्पिटलबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवा तथा विशेषज्ञ उपचारमा सहजीकरण गरिनेछ। दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता घटाउने उद्देश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए।

यसैबीच गाउँपालिकाको आयोजना र हस्पिटलको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दा बढीले सेवा लिएका छन्। शिविरमा बाल, स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक–कान–घाँटी, अर्थोपेडिकलगायतका विशेषज्ञले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा आँखा परीक्षण, भिडियो एक्सरे, परामर्श तथा आवश्यक औषधिसमेत वितरण गरिएको थियो।