बकैयामा १२ वर्षीय बालकको मृत्यु, भीमफेदीमा महिलाको शव फेला

पालिका संचारकर्मी
७ भाद्र २०८३, आईतवार १०:५०

हेटौंडा । मकवानपुरमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ भने अर्कोतर्फ एक महिलाको शव फेला परेको छ ।

बकैया गाउँपालिका–३ हात्तीसुँडेका बासुप्रसाद दाहालका १२ वर्षीय छोरा कृशल दाहालको स्थानीय लोहाजोर खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

शनिबार बकैया गाउँपालिका–४ स्थित लोहाजोर खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका कृशललाई प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । उद्धारपछि उपचारका लागि अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, भीमफेदी गाउँपालिका–८ स्थित माण्डु हाइड्रोपावरको पानी छान्ने बकेटमा एक महिलाको शव फेला परेको छ । अन्दाजी ३५ देखि ४० वर्षीया महिलाको शव फेला परे पनि हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।