बागमतीका १३ जिल्लामा मोर्चाको समन्वय बैठक, नेतृत्वको जिम्मेवारी बाँडफाँट
हेटौंडा । विभिन्न ९ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले बागमती प्रदेशमा संगठनात्मक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको मोर्चाको प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते बागमती प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने निर्णय गरेको हो । आगामी असोज १० गते काठमाडौंमा विशेष भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले प्रदेशका १३ जिल्लामा समन्वय समितिको नेतृत्वसमेत बाँडफाँट गरेको छ । काठमाडौं, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, चितवन र मकवानपुरको जिम्मेवारी प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, ललितपुर, सिन्धुली, रामेछाप र दोलखाको जिम्मेवारी जसपा नेपाल तथा भक्तपुर, सिन्धुपाल्चोक र धादिङको जिम्मेवारी आजपाले लिने तय भएको छ ।
प्रदेशस्तरीय जनसंगठनका लागि पनि बैठकले जिम्मेवारी तोकेको छ । महिला मोर्चाको जिम्मेवारी लिला सिटौला, युवा तथा विद्यार्थीको शंकर पौड्याल, आईटी तथा मिडियाको सुभाष प्रसाद साह र विकेश साह तथा बुद्धिजीवी मोर्चाको जिम्मेवारी सुरेन्द्र प्रधानलाई दिइएको छ ।
यस्तै, भदौ २३ गते हुने जेनजी प्रदर्शनलाई संयुक्त रूपमा प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ । मोर्चाको अर्को बैठक भदौ २१ गते जसपा नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा बस्नेछ ।
आजपाका सहअध्यक्ष तिलक थापा मगरको अध्यक्षतामा बसेको बैठकमा मोर्चाका आगामी कार्यक्रमबारे छलफल भएको थियो । बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालका प्रमुख संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा, आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहलगायत नेताहरू सहभागी थिए ।

पालिका संचारकर्मी 






