मनहरीमा यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दियो, दुई घाइते

पालिका संचारकर्मी
९ भाद्र २०८३, मंगलवार १५:१६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा मंगलबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख ९९५० नम्बरको यात्रुवाहक बसले मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना.२२ प १९५५ नम्बरको स्कुटरलाई दिउँसो करिब १२ः३५ बजे ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक राक्सिराङ गाउँपालिका–३ केरावारीका २३ वर्षीय युवराज थोकर र स्कुटरमा पछाडि सवार सोही स्थानका २६ वर्षीय पासाङ कुमार घलान घाइते भएका छन्।

प्रहरीका अनुसार थोकरको अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने घलानको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवै जनालाई उद्धार गरी उपचारका लागि चितवनको भरतपुरस्थित मौलाकाली अस्पताल पठाइएको छ।

दुर्घटनापछि बस चालक बारा, जितपुर–सिमरा उपमहानगरपालिका–४ का ३४ वर्षीय जितेन्द्र चौधरीले बससहित इलाका प्रहरी कार्यालय मनहरीमा सम्पर्क गरेका थिए।

प्रहरीले बस, चालक र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। चालकले मादक पदार्थ सेवन नगरेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब दुई किलोमिटर पूर्वतर्फ रहेको छ।