कैलाश गाउँपालिकाबाटै प्यान र करसम्बन्धी सेवा, स्थानीय खुसी
कैलाश । कैलाश गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ देखि गाउँपालिकामै करदाता सेवा सुरु गरेको छ। पालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि स्थानीयलाई सामान्य करसम्बन्धी कामका लागि हेटौँडा धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
करदाता सेवा सुरु भएसँगै गाउँपालिकाबाट व्यक्तिगत प्यान, समूह तथा फर्मका लागि प्यानलगायत करसम्बन्धी आवश्यक सेवा उपलब्ध हुने भएको छ। ३० लाख रुपैयाँसम्म कारोबार गर्ने करदाताका लागि करचुक्तासम्बन्धी सेवा पनि सुरु गरिएको करदाता सेवा प्रमुख नरेन्द्र दत्त भट्टले जानकारी दिए।
भौगोलिक रूपमा विकट कैलाशका नागरिकले यसअघि करसम्बन्धी सामान्य कामका लागि समेत हेटौँडा पुग्नुपर्ने अवस्था थियो। गाउँमै सेवा विस्तार भएपछि स्थानीयको समय र खर्च बचत हुने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।
उनका अनुसार गाउँपालिकामै कर सेवा उपलब्ध हुँदा व्यवसायी, उद्यमी तथा अन्य करदातालाई सहज हुनुका साथै कर प्रशासन प्रभावकारी बन्नेछ।
प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले स्थानीयलाई सहज, सरल र छिटो सेवा दिने उद्देश्यले करदाता सेवा विस्तार गरिएको बताइन्। यसबाट करको दायरा व्यवस्थित गर्न र स्थानीय राजस्व संकलन बढाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ।
सेवा सुरु भएसँगै कैलाश–७ स्थित सफलता कृषि तथा पशुपन्छी पालन फर्मकी सञ्चालक सजिता प्रजाले गाउँपालिकाबाटै प्यान प्रमाणपत्र लिएकी छन्। गाउँमै प्यान र करचुक्ताको सेवा पाउँदा खुसी लागेको बताउँदै उनले अब करसम्बन्धी कामका लागि हेटौँडा जानुपर्ने बाध्यता हटेको बताइन्।
गाउँपालिकाले स्थानीय व्यवसायी तथा नागरिकलाई गाउँमै उपलब्ध करदाता सेवाको उपयोग गर्न आग्रह गरेको छ।

पालिका संचारकर्मी 






