मनहरीमा घरमै मृत भेटिए दोर्जे, शरीरमा चोटपटक देखिएन
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ खैरघारीमा ३१ वर्षीय दोर्जे बोम्जन आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार दिउँसो करिब १ बजे बोम्जन घरको ओछ्यानमा सुतेको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे उनकी श्रीमतीले आफन्त तथा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएकी थिइन्।
वडाध्यक्षमार्फत घटनाको जानकारी प्रहरी चौकी सुनाचुरीमा पुगेपछि प्रहरी सहायक निरीक्षक रामप्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक निरीक्षणका क्रममा बोम्जनको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामहरि रिजालको कमाण्डमा SOCO टोलीसमेत घटनास्थल पुगेको थियो।
मुचुल्का कार्य सम्पन्न गरी बोम्जनको शव पोस्टमार्टमका लागि बिहीबार साँझ ४ः३८ बजे हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ। बोम्जन श्रीमती र साना छोराछोरीसँगै बस्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






