बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

पालिका संचारकर्मी
४ भाद्र २०८३, बिहीबार १६:५९

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ। यद्यपि, थापालाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद देखिएको छ।

यसअघि विश्वासको मत नपाउने भएपछि निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि भदौ ४ गतेसम्मको समय दिएका थिए।

थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्ने चौथो व्यक्ति हुन्। यसअघि शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व गरेका थिए।