हेटौँडातर्फ आउँदै गरेको ट्रक सडकबाट १०० मिटर तल खस्यो

पालिका संचारकर्मी
४ भाद्र २०८३, बिहीबार ११:४२

हेटौँडा । मकवानपुरको कान्ति लोकपथमा ह्युमपाइप बोकेको ट्रक दुर्घटनामा परेको छ। ब्रेक फेल भएपछि ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेको हो।

मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडाको घुम्तीमा बिहीबार बिहान करिब ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। रौतहटको चन्द्रपुरबाट फास्ट ट्र्याकको महादेवटारतर्फ जाँदै गरेको ना.१ क ८५३६ नम्बरको ट्रक घुम्तीमा पुगेपछि अनियन्त्रित भएर सडकबाट तल खसेको थियो।

ट्रक खस्न थालेपछि चालकले समयमै हामफालेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–६ का ३६ वर्षीय चालक धनबहादुर विक सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला ट्रकमा चालक मात्र थिए। घटनापछि प्रहरीले दुर्घटनाको थप विवरण तथा ट्रकमा भएको क्षतिको अवस्थाबारे अनुसन्धान गरिरहेको जनाएको छ।