मनसुन थप सक्रिय, आज ३७ जिल्लामा बाढीको जोखिम
मनसुन थप सक्रिय भएसँगै आज देशका विभिन्न क्षेत्रमा वर्षाको मात्रा बढ्ने र ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका थोरै स्थानमा मुसलधारे तथा अन्य धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित मकवानपुर, चितवन, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखा, कास्की, लमजुङ, तनहुँ, बारा, पर्सा, सुर्खेत, कैलाली, कञ्चनपुरलगायत ३७ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।
मौसमविद्ले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै वीपी राजमार्ग र पृथ्वी राजमार्गका केही खण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न पनि सुझाव दिइएको छ।

पालिका संचारकर्मी 




