रातोमाटेमा मोटरसाइकल–स्कुटर ठोक्किँदा दुई घाइते, दुवैको अवस्था मध्यम

पालिका संचारकर्मी
१५ श्रावण २०८३, शुक्रबार १०:१३

हेटौँडा–१५ को रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट उद्योग अगाडिको भित्री सडकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बुधबार बिहान करिब ९:३० बजे रातोमाटेबाट भोर्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २५२३ नम्बरको स्कुटरलाई फारलाइनबाट रिद्धिसिद्धितर्फ आउँदै गरेको ना.२१ प ८२९८ नम्बरको मोटरसाइकलले सडक क्रस गर्ने क्रममा ठक्कर दिएको बागमती प्रदेश प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–५ निवासी करिब ५० वर्षीय महेश्वर अमात्यको ढाडमा भित्री चोट लागेको छ भने स्कुटर चालक हेटौँडा–१५ निवासी ३२ वर्षीया माया तामाङको काँध (कुम) मा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी हवलदार राजकुमार गजुरेलको नेतृत्वमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा दुवै सवारी साधनमा क्षति पुगेको छ। सवारी साधनहरू प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेका छन्। प्रारम्भिक अनुसन्धानमा दुवै चालकले मदिरा सेवन नगरेको र सवारीका आवश्यक कागजातसमेत व्यवस्थित रहेको खुलेको प्रहरीले जनाएको छ।