चाइनागेटमा स्कुटरलाई मोटरसाइकलको ठक्कर, आमा–छोरा घाइते, चालक फरार

पालिका संचारकर्मी
१४ श्रावण २०८३, बिहीबार ०७:१९

हेटौंडा उपमहानगरपालिका–१ स्थित चाइनागेट अगाडि महेन्द्र राजमार्गमा स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा आमा–छोरा घाइते भएका छन् भने ठक्कर दिने मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार राति करिब ९ः१५ बजे बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प २७९१ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको हो। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक हेटौंडा–११ थानाभर्‍याङ निवासी करिब ४० वर्षीया रेणु महत्तोको मुख र टाउकोमा चोट लागेको छ। स्कुटरमा पछाडि सवार उनका २० वर्षीय छोरा विपिन महत्तोको दुवै हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरी सहायक निरीक्षक अनिल बि.क.को नेतृत्वमा खटिएको टोलीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ भने फरार मोटरसाइकल चालक र सवारी साधनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ।