हेटौंडामा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

पालिका संचारकर्मी
१४ श्रावण २०८३, बिहीबार ०८:१६

हेटौंडा उपमहानगरपालिका–५ स्थित भिआईपी पुल नजिक भित्री सडकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा आमा र उनका ५ वर्षीय छोरा घाइते भएका छन्।

मंगलबार साँझ करिब ५ः५३ बजे हेटौंडा–८ कमाने निवासी करिब ३० वर्षीया रिता गौतमले चलाएको ना.५२ प ११३३ नम्बरको स्कुटर तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक गौतमको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ। स्कुटरमा पछाडि सवार उनका ५ वर्षीय छोरा शिवांश खड्काको टाउको, दुवै हात तथा खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको छ।

दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि थप उपचार आवश्यक भएपछि साँझ करिब ८ बजे नयाँ मेडिकल कलेज, चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बृज किशोर शाह गोठको नेतृत्वमा खटिएको टोलीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनामा स्कुटरमा क्षति पुगेको छ भने सवारी साधन वडा प्रहरी कार्यालय सानोपोखराको नियन्त्रणमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार चालकसँग आवश्यक कागजात रहेको र मदिरा सेवन नगरेको प्रहरीले जनाएको छ।