थानाभर्याङमा आश्मान गोपाली मृत भेटिएको घटनामा होटल सञ्चालकसहित ८ जना पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीले होटल सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
मृतक थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनास्थलमा रगतसमेत देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको हो।
पुरुष मृत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको शाखाबाट बिहान करिब ८ः३० बजे कुकुरसहितको अनुसन्धान टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो।
घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा प्रहरीले होटल सञ्चालक मकवानपुर बकैया गाउँपालिका–५ का ४० वर्षीय कमानसिंह माझीसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये ६ जना महिला रहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा तथा मृतकका आफन्तले आश्मान गोपालीको हत्या भएको दाबी गरेका छन्। यद्यपि, प्रहरीले भने घटनाको वास्तविक कारणबारे सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेश बतौलाका अनुसार होटलमा बसेका तथा शंकास्पद देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको छ। मृतकको पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






