स्वास्थ्यकर्मी कुटपिटको विरोधमा देशभरका अस्पताल आकस्मिक वाहेक सबै सेवा ठप्प

पालिका संचारकर्मी
१२ श्रावण २०८३, मंगलवार १०:२५

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।

सङ्घले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत साउन १२ गते मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहने जनाएको हो।

सङ्घका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालमा समेत तोडफोड गरिएको सङ्घको भनाइ छ।

घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखबाट बल प्रयोग भएको सङ्घले आरोप लगाएको छ। सो क्रममा सङ्घका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको भन्दै सङ्घले घटनाको कडा शब्दमा भर्त्सना गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, आक्रमणमा संलग्नलाई कानुनी कारबाही र दोषीमाथि निष्पक्ष छानबिनको माग गर्दै सङ्घले विरोधस्वरूप देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।