सिक्किममा फुटबल खेल्न हेटौँडाको २५ सदस्यीय टोली प्रस्थान

पालिका संचारकर्मी
११ श्रावण २०८३, सोमबार ०५:५६

हेटौँडा । सिक्किममा आयोजना हुने विभिन्न फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न हेटौँडा फुटबल एकेडेमी मकवानपुरको २५ सदस्यीय टोली भारततर्फ प्रस्थान गरेको छ।

स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने प्रतियोगिताहरूमा मकवानपुरसँगै नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यले टोली आइतबार सिक्किमतर्फ गएको हो। एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाका अनुसार टोलीले सिक्किममा १५ लाख र १० लाख रुपैयाँ पुरस्कार राशिका प्रतियोगितासहित गत वर्ष उपाधि जितेको मुनसोङको ८०औँ स्वतन्त्रता दिवस फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछ।

टोलीले साउन १५ गते मुनसोङमा हुने ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली माम्रिङ ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि साउन १८ गते सीतादेवी शर्मा स्मृति फुटबल प्रतियोगितामा सिक्किम पुलिससँग भिड्नेछ।

मुनसोङ प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने सीतादेवी शर्मा स्मृति फुटबल प्रतियोगिताको पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको छ।

टोलीमा २० खेलाडीसहित अफिसियल, टिम म्यानेजर र प्रशिक्षक गरी २५ जना रहेका छन्। टोली आइतबार राति हेटौँडाबाट झापाको काँकडभिट्टा पुगेको र सोमबार पानीटंकी हुँदै सिक्किम पुग्ने प्रशिक्षक लामाले जानकारी दिए।

सिक्किमका प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई ए डिभिजनका खेलाडी कृशल मोक्तान र काठमाडौंस्थित मनास्लु वर्ल्ड कलेजका गेन्द्र लामाले जर्सी तथा खेल पोसाक सहयोग गरेका छन्। यस्तै, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी र हिमालयन कफी बारिष्टा एन्ड तालिम सेन्टरका सञ्चालक रन्विर मगरले नगद ५ हजार रुपैयाँ तथा सोही मूल्य बराबरको जुराफ सहयोग गरेका छन्। जीएस निकेतन बोर्डिङका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले पनि ४ हजार रुपैयाँ सहयोग गरेका छन्।

हेटौँडा फुटबल एकेडेमीले विगत तीन वर्षदेखि सिक्किममा आयोजना हुने इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। पहिलो सहभागितामा उपविजेता बनेको एकेडेमी त्यसयता लगातार दुई पटक च्याम्पियन बनेको हो।

गत वर्ष मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा भएको ७९औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोल अन्तरले पराजित गर्दै हेटौँडा फुटबल एकेडेमीले उपाधि जितेको थियो।