सिक्किम जाने हेटौँडा फुटबल एकेडेमीलाई कृशल मोक्तानको खेल पोसाक सहयोग
हेटौँडा । भारतको सिक्किममा आयोजना हुने इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागी हुन लागेको हेटौँडा फुटबल एकेडेमीको टोलीलाई ए डिभिजन खेलाडी कृशल मोक्तानले जर्सी–कट्टु सहयोग गरेका छन् ।
हेटौँडा फुटबल एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका गोलरक्षक मोक्तानले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि २० थान जर्सी–कट्टु सहयोग गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका मोक्तानले खेलाडीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले २० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको खेल पोसाक उपलब्ध गराएको बताएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका–रजैयाका मोक्तान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।
हेटौँडा फुटबल एकेडेमीको टोली विगत तीन वर्षदेखि सिक्किममा आयोजना हुने इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ । पहिलो सहभागितामा उपविजेता बनेको टोलीले त्यसपछिका दुई संस्करणमा लगातार उपाधि जितेको थियो ।
यसपटक हेटौँडा फुटबल एकेडेमीको टोलीले सिक्किममा आयोजना हुने विभिन्न प्रतियोगितामा सहभागिता जनाउने तयारी गरेको छ । टोलीले १५ लाख र १० लाख रुपैयाँ पुरस्कार राशिका प्रतियोगितासहित गत वर्ष उपाधि जितेको मुनसोङ, नाम्ची, पायोङ तथा रम्फोलगायतका प्रतियोगितामा सहभागिता जनाउनेछ ।
सिक्किमका प्रतियोगितामा हेटौँडाको टोलीको कप्तानी छिरिङ लामाले गर्नेछन् । टोलीले प्रतियोगितामा सहभागी हुन आवश्यक अन्य स्रोतका लागि हेटौँडा उपमहानगरपालिका र हेटौँडा–५ स्थित जीएस निकेतनसँग सहयोगका लागि प्रस्ताव गर्ने जनाएको छ ।
प्रशिक्षक भीम लामाका अनुसार २० खेलाडी, अफिसियल, टिम म्यानेजर र प्रशिक्षकसहित २५ सदस्यीय टोली आइतबार साँझ सिक्किम प्रस्थान गर्नेछ ।
गत वर्ष मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा भएको ७९औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले पराजित गर्दै हेटौँडा फुटबल एकेडेमीले उपाधि जितेको थियो ।

पालिका संचारकर्मी 







