राक्सिराङका नागरिकको वर्षौंदेखिको समस्या समाधान हुँदै, जिर्खे खोलामा पुल बन्दै
पालिका संचारकर्मी
हेटौँडा । वर्षायाम सुरु भएसँगै मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाका स्थानीयको दैनिकी फेरि जोखिमपूर्ण बनेको छ। मनहरी र राक्सिराङ जोड्ने मुख्य मार्गमा पर्ने जिर्खे खोलामा पानीको बहाव बढेपछि स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको हो।
सामान्य अवस्थामा सानो देखिने जिर्खे खोला बर्खा लागेसँगै एक्कासि उर्लिने गरेको स्थानीय बताउँछन्। पुल नहुँदा स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, कर्मचारी तथा गाउँपालिकाका सेवाग्राही जोखिम मोलेरै खोला वारपार गर्न बाध्य छन्। पानीको बहाव बढेका बेला घण्टौँसम्म बाटोमै रोकिनुपर्ने र कतिपय अवस्थामा गन्तव्यतर्फ जानै नसकी फर्किनुपर्ने अवस्था आउने गरेको छ।
विगतमा खोलाले मानिस तथा सवारीसाधनसमेत बगाएका घटना रहेकाले स्थानीयमा त्रास कायमै छ। बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्था, बालबालिकालाई विद्यालय पठाउनुपर्ने बाध्यता तथा सरकारी सेवा लिन गाउँपालिका कार्यालयसम्म पुग्नुपर्ने नागरिकका लागि वर्षायाम थप कष्टकर बन्ने गरेको छ।
तर, स्थानीयको वर्षौँदेखिको समस्या अब विस्तारै समाधान हुने अपेक्षा गरिएको छ। जिर्खे खोलामा पहिलोपटक पक्की पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गत प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि पुल निर्माणको काम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका इन्जिनियर निरोज महतका अनुसार पुल निर्माणका लागि ८ करोड १४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। ठेक्का भने ६ करोड ५३ लाख ३० हजार ९५४ रुपैयाँमा सम्झौता भएको छ। गत असारमा ठेक्का सम्झौता भएको पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
३५–३५ मिटरका दुईवटा स्पान रहने पुलको कुल लम्बाइ ७२ मिटर हुनेछ। पुल निर्माण सम्पन्न भएपछि राक्सिराङसँगै मनहरी र आसपासका क्षेत्रका हजारौँ नागरिकलाई सुरक्षित तथा सहज आवतजावतमा राहत पुग्ने अपेक्षा गरिएको छ।
पुल नहुँदा जोखिम, अटो भाडाले अर्को सास्ती
जिर्खे खोलाको समस्या पानीको बहावमा मात्रै सीमित छैन। बर्खायाममा खोला बढेसँगै स्थानीयले चर्को अटो भाडाको समेत सामना गर्नुपरेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार पेट्रोलको मूल्य बढेको समयमा अन्य वडाबाट गाउँपालिका कार्यालय चैनपुरसम्म पुग्न २०० रुपैयाँसम्म अटो भाडा तिर्नुपर्ने अवस्था थियो। अहिले इन्धनको मूल्य घटिसके पनि भाडा भने घट्न नसकेको उनीहरूको गुनासो छ।
अहिले पानीको बहाव बढेपछि मनहरी बजारदेखि जिर्खेसम्म १०० रुपैयाँ र जिर्खेदेखि गाउँपालिका कार्यालय चैनपुरसम्म थप १०० देखि १२० रुपैयाँसम्म भाडा तिर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्। गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राही यसबाट बढी प्रभावित भएका छन्।
विशेषगरी सामाजिक सुरक्षा भत्ता नवीकरणको समय भएकाले वृद्धवृद्धाहरू बैंक तथा वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यतामा छन्। उनीहरूले एकातिर जोखिम मोलेर खोला पार गर्नुपर्ने र अर्कोतिर महँगो यातायात भाडा तिर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
स्थानीय अटो चालकहरूले केही सहुलियत दिने गरे पनि मनहरी तथा बाहिरी क्षेत्रबाट आउने अटोले मनपरी भाडा असुल्ने गरेको आरोप छ।
जिर्खे खोलामा पक्की पुल निर्माण सुरु भएपछि स्थानीयमा आशा पलाएको छ। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने जोखिम अन्त्य हुनुका साथै यातायात सञ्चालन पनि सहज हुने र मनपरी भाडा असुल्ने प्रवृत्तिमा समेत कमी आउने स्थानीयको अपेक्षा छ।









