हेटौंडा–११ मा बालुवा बोकेको ट्याक्टर दुर्घटना, चालकको मृत्यु
पालिका संचारकर्मी
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ झमसिङटार नजिक भित्री कच्ची सडकमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ५ बजे हेटौंडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त.०३९७ नम्बरको बालुवा लोड गरिएको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सल्यानको कपुरकोट गाउँपालिका–३ निवासी करिब २२ वर्षीय ट्याक्टर चालक बिक्रम खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारकै क्रममा राति करिब १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोस्ट थानाभर्याङबाट प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









