थाइराइड रोगका लक्षण के–के हुन् ? हर्मोन कम र बढी हुँदा देखिन्छन्
पालिका संचारकर्मी
थाइराइड आफैँमा रोग नभई शरीरको महत्वपूर्ण अंग हो। घाँटीमा पुतली आकारमा रहेको थाइराइड ग्रन्थीले शरीरका विभिन्न महत्वपूर्ण कामलाई नियमन गर्ने हर्मोन उत्पादन गर्छ। थाइराइड ग्रन्थीले आवश्यकताभन्दा कम वा बढी हर्मोन उत्पादन गरेमा वा ग्रन्थीमा अन्य समस्या देखिएमा त्यसलाई थाइराइडसम्बन्धी समस्या भनिन्छ।
चिकित्सक डा. भोजराज अधिकारीका अनुसार थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ। हर्मोनसम्बन्धी समस्या महिलामा बढी देखिने भएकाले थाइराइडको जोखिम पनि तुलनात्मक रूपमा बढी हुने गर्छ।
हर्मोन कम हुँदा देखिन सक्ने लक्षण :
- खानपान सामान्य भए पनि तौल अप्रत्याशित रूपमा बढ्दै जानु
- अत्यधिक थकान, कमजोरी र आलस्य महसुस हुनु
- अरूको तुलनामा बढी चिसो महसुस हुनु
- कब्जियतको समस्या हुनु
- कपाल धेरै झर्नु
- छाला सुख्खा र फुस्रो हुनु
त्यस्तै, हर्मोन बढी हुँदा देखिन सक्ने लक्षण :
- धेरै भोक लागे पनि तौल लगातार घट्दै जानु
- अत्यधिक गर्मी महसुस हुनु र धेरै पसिना आउनु
- मुटुको धड्कन तीव्र हुनु
- हातखुट्टा वा औँला काँप्नु
- चिडचिडापन, छटपटी र निद्रा नलाग्ने समस्या हुनु
यस्ता लक्षण देखिँदैमा थाइराइड भएको निश्चित नहुने भएकाले चिकित्सकको सल्लाहमा आवश्यक परीक्षण गराउनु उचित हुन्छ। समयमै पहिचान गरी उपचार गरेमा थाइराइडसम्बन्धी अधिकांश समस्या नियन्त्रण गर्न सकिन्छ।









