सिमखोलाले बगाएको स्कुटर भेटियो, चालकको खोजी अझै जारी
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले बगाएको स्कुटर घटनाको करिब एक दिनपछि फेला परेको छ। तर स्कुटर चालक भने अझै सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेका बेला कुलेखानी ड्याममुनिको सिमखोलामा आएको आकस्मिक बाढीले बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको होन्डा एभिएटर स्कुटर बगाएको थियो।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार बिहान करिब १० बजे सडकबाट झण्डै २०० मिटर तल खोलामा स्कुटर फेला पारिएको हो। सुरक्षाकर्मीले स्कुटर खोलाबाट निकालिसकेका छन्।
प्रहरीका अनुसार स्कुटर कसको नाममा दर्ता छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। स्कुटर चालक भने अझै बेपत्ता रहेकाले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा खोजी अभियानलाई निरन्तरता दिइएको छ।

पालिका संचारकर्मी 







