बाढीको बहाव बढ्दा कर्रा खोलामा ट्रक फस्यो, चालक सामान्य घाइते
पालिका संचारकर्मी
हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिक कर्रा खोलामा आएको बाढीले एक खाली ट्रक बगाएको छ।
आज बिहान करिब ७ः४५ बजे खोलामा पानीको बहाव एकाएक बढेपछि ह्युमपाइप राखेर निर्माण गरिएको कल्भर्ट (लच्का) पार गर्ने क्रममा सिमेन्ट उद्योगबाट ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीले बगाएको हो।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ भने समयमै ट्रकबाट बाहिर निस्केर पौडिँदै सकुशल ज्यान जोगाउन सफल भएका छन्। घटनामा उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते चालकलाई उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको प्रहरीले जनाएको छ।
घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।









