आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती : भाषा, साहित्य र राष्ट्रिय पहिचानका अग्रदूतलाई श्रद्धापूर्वक स्मरण

पालिका संचारकर्मी
२९ असार २०८३, सोमबार १०:३२

काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमका साथ मनाइँदैछ।

यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गर्दै विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ। विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृत भाषाको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी आम नेपालीका लागि सहज बनाएको योगदान आज पनि उत्तिकै स्मरणीय मानिन्छ।

भानुभक्तद्वारा अनुवाद गरिएको रामायण अहिले पनि नेपालीका घरघरमा श्रद्धापूर्वक पाठ गरिन्छ। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्‍याएको योगदानका कारण उहाँलाई नेपाली साहित्यको आदिकवि मानिन्छ।

‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनामार्फत भानुभक्तले नेपाली समाजमा भाषा, संस्कृति र नैतिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र नेपाली भाषाको विकासमा उहाँको योगदान ऐतिहासिक मानिन्छ।

भानु जयन्तीका अवसरमा देशभरका विभिन्न सङ्घसंस्था, विद्यालय तथा साहित्यिक प्रतिष्ठानले रामायण वाचन, साहित्यिक गोष्ठी र सम्मान कार्यक्रम आयोजना गरेका छन्। भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका स्थानमा पनि भानुभक्तको जन्मजयन्ती विशेष रूपमा मनाइँदै आएको छ।