उच्च शिक्षादेखि करियरसम्मको मार्गदर्शन, हेटौंडा–८ मा विद्यार्थी केन्द्रित कार्यक्रम सम्पन्न

पालिका संचारकर्मी
२८ असार २०८३, आईतवार १०:५८

हेटौंडा, २८ असार — हेटौंडा उपमहानगरपालिका–८ का कक्षा १२ उत्तीर्ण ९२ जना विद्यार्थीलाई सम्मान गर्दै उनीहरूको उच्च शिक्षा र पेशागत भविष्यबारे मार्गदर्शन प्रदान गरिएको छ।

टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ को आयोजनामा चन्द्रोदय माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानसँगै करियर काउन्सिलिङ प्रदान गरिएको हो। आयोजकका अनुसार विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र रोजगारी बजारको मागअनुसार उपयुक्त विषय तथा पेशा छनोट गर्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल ले विद्यार्थी जीवनमा सही मार्गदर्शनको महत्व उल्लेख गर्दै शिक्षालाई प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न राज्य र स्थानीय तहबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

समितिका अध्यक्ष कुमार केसीले आर्थिक अभावका कारण हेटौंडा–८ का कुनै पनि विद्यार्थीको पढाइ रोकिन नदिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूको शैक्षिक उन्नति र भविष्य निर्माणमा समिति निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडा–८ को टोल विकास संस्थाले समुदायसँग प्रत्यक्ष जोडिएर उदाहरणीय काम गरिरहेको बताउनुभयो। हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापासहित अन्य जनप्रतिनिधिले पनि युवाको क्षमता विकास र शैक्षिक उन्नयनमा यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

राष्ट्रिय गान तथा शहीदप्रति मौनधारणबाट सुरु भएको कार्यक्रममा विद्यालय, सहकारी, टोल विकास संस्था, बाल सञ्जाल, अभिभावक र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वास बढाउन र भविष्यको स्पष्ट लक्ष्य तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।