अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता सञ्चालन पनि सहज

पालिका संचारकर्मी
२७ असार २०८३, शनिबार ११:०८

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउने र ग्राहकलाई थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले खाता बन्द गर्ने तथा निष्क्रिय खाता पुनः सञ्चालन गर्ने प्रक्रियालाई सरल बनाउन निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार अब ग्राहकले खाता खोलिएको शाखामै पुग्नुपर्ने बाध्यता हटेको छ। सम्बन्धित बैंकको नेपालभर रहेका जुनसुकै शाखाबाट खाता बन्द गर्न सकिनेछ भने मोबाइल बैंकिङ वा वेब एपमार्फत पनि खाता बन्द गर्ने सुविधा उपलब्ध गराउन बैंकहरूलाई निर्देशन दिइएको छ। खाता बन्द गर्दा बाँकी रकम ग्राहकले रोजेको अर्को बैंक खातामा स्थानान्तरण गरी प्रक्रिया पूरा गर्नुपर्नेछ।

त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका खातालाई पुनः सञ्चालन गर्न पनि ग्राहकले जुनसुकै शाखामा गई आफ्नो केवाईसी (KYC) अद्यावधिक गरेपछि खाता सक्रिय बनाउन सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउने विशेष कार्ययोजना तयार गरी २०८३ साल पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ।

यसका साथै, कुनै खाता निष्क्रिय हुनुअघि बैंकले फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको छ। निष्क्रिय भइसकेका खाताका ग्राहकलाई पनि कम्तीमा प्रत्येक ६ महिनामा एकपटक सम्पर्क गरी खाता पुनः सञ्चालन गर्न आग्रह गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।