सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
पालिका संचारकर्मी
काठमाडौँ । सार्वजनिक प्रशासनलाई थप अनुशासित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यसहित सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने लगायत कर्मचारीको आचरण, सेवाप्रवाह र सार्वजनिक व्यवहारमा कडाइ गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ कार्यान्वयनमा ल्याउँदै सबै सरकारी कर्मचारीलाई यसको पूर्ण पालना गर्न निर्देशन दिएको हो।
आचारसंहितामा कार्यालय समयमा अनावश्यक रूपमा फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने, सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउनुपर्ने, सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने, सरकारी गोपनीयता कायम राख्नुपर्ने, मर्यादित पोशाक लगाउनुपर्ने तथा उपहार वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ।
सरकारले यसलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा व्याख्या गरेको छ। यसअघि सार्वजनिक गरिएको शासकीय सुधार कार्यसूचीअनुसार कर्मचारीतन्त्रलाई निष्पक्ष, व्यावसायिक र उत्तरदायी बनाउने लक्ष्यलाई कार्यान्वयन गर्न नयाँ आचारसंहिता ल्याइएको जनाएको छ।
पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालको प्रयोग, सेवा प्रवाहमा हुने ढिलासुस्ती तथा अनुशासनसम्बन्धी गुनासो बढिरहेका बेला सरकारले आचारसंहितामार्फत थप कडाइ गरेको हो।
यसअघि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता लागू गरिएको थियो। अहिले भने समग्र सरकारी प्रशासनमा कार्यरत कर्मचारीलाई एउटै आचारसंहिताको दायरामा ल्याएर अनुशासन र सुशासन प्रवर्द्धन गर्ने तयारी सरकारले अघि बढाएको छ।








