हेटौँडा सामूहिक बलात्कार मुद्दामा अदालतको फैसला, ८ जनालाई कैद र ९ लाख ५० हजार क्षतिपूर्ति
पालिका संचारकर्मी
हेटौँडा । हेटौँडाकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटनामा जिल्ला अदालत मकवानपुरले ८ जनालाई दोषी ठहर गर्दै ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजाय सुनाएको छ। अदालतले दोषीका अभिभावकबाट पीडितलाई कुल ९ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले घटनाका मुख्य अभियुक्त हेटौँडा–१४ का १८ वर्षीय सुजितकुमार लामालाई साढे ३ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।
यसैगरी, घटनामा संलग्न ६ जना नाबालकलाई कानुनी व्यवस्थाअनुसार १० वर्ष कैद हुने भए पनि उनीहरू १८ वर्षभन्दा कम उमेरका भएकाले बाल न्यायसम्बन्धी कानुनी व्यवस्थाअनुसार साढे ६ वर्ष कैद सजाय सुनाइएको अदालतले जनाएको छ। उनीहरूका अभिभावकबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि भएको छ।
घटनामा संलग्न १५ वर्षीय अर्का एक किशोरलाई ३ वर्ष कैदसँगै पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश दिएको छ।
मुख्य अभियुक्त सुजित लामा हाल भीमफेदी कारागारमा रहेका छन् भने अन्य ७ जना नाबालक हेटौँडाको थानाभर्याङस्थित बालसुधार गृहमा राखिएका छन्। घटनामा संलग्न अन्य दुई किशोर भने अझै फरार रहेको जनाइएको छ।
गत माघ ६ गते हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगल क्षेत्रमा किशोरीमाथि जबर्जस्ती करणी भएको आरोपमा पीडितले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले फागुन २२ गते ८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
अदालतबाट दोषी ठहर भएका किशोरहरू र पीडित एउटै क्याम्पसमा अध्ययनरत रहेको खुलेको छ। पीडित स्नातक तहमा अध्ययनरत रहेकी छन् भने दोषी ठहर भएका किशोरहरू कक्षा १२ मा अध्ययनरत थिए।









