मकवानपुरमा लागूऔषधविरुद्ध प्रहरीको कडा निगरानी, दुई जनाबाट ट्रामाडोल, नाइट्राजेपाम र खैरो हेरोइन बरामद

पालिका संचारकर्मी
२५ असार २०८३, बिहीबार १०:१७

मकवानपुर प्रहरीले जिल्लाका दुई फरक स्थानमा गरेको नियमित सुरक्षा जाँचका क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार २३ गते साँझ हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बाराको निजगढ नगरपालिका–२ का २५ वर्षीय आर.एन. घिमिरेको साथबाट ट्रामाडोल ५४० क्याप्सुल र नाइट्राजेपाम ४८ ट्याब्लेट फेला परेको थियो।

यस्तै, हेटौँडा–१० बसपार्क क्षेत्रमा गरिएको अर्को चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठको साथबाट २ ग्राम २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनामा बरामद लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ भने पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।