जनकपुरबाट पोखरा जाँदै गरेको बस हेटौंडामा दुर्घटनाग्रस्त, ९ यात्रु घाइते
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक महेन्द्र राजमार्गमा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ११ः१५ बजे जनकपुरबाट पोखरातर्फ गइरहेको ना ६ ख ७४५७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। बस महोत्तरी स्थायी घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्दै आएका अन्दाजी ५० वर्षीय धनिराम बिकले चलाएका थिए।
दुर्घटनापछि प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो। बसमा करिब ३० देखि ३५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ९ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
दुर्घटनाग्रस्त बस सडकमा पल्टिएकाले हटाउन क्रेनको व्यवस्था मिलाइँदै छ। यद्यपि, महेन्द्र राजमार्गमा सवारी आवागमन भने नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।

पालिका संचारकर्मी 






