रास्वपा महाधिवेशन आज देखि सुरु : ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी सहभागिता

पालिका संचारकर्मी
७ असार २०८३, आईतवार १०:२७

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन आजदेखि सुरु हुदैँ छ ।
प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ प्रतिनिधि चयन गरेको छ। प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत तय गरिएको पार्टीले जनाएको छ।

पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, पार्टी सभापतिबाट १३८ जना मनोनयन गरिएको छ भने समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई पनि प्रतिनिधिका रूपमा समेटिएको छ।

प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा धेरै ७९४ जना प्रतिनिधि रहनेछन्। त्यसपछि मधेसबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोसीबाट ३६४ र कर्णालीबाट ३४३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिमा पालिका, क्षेत्रीय तथा जिल्ला तहका नेतृत्वलाई समेटिएको छ। पालिका सभापति, क्षेत्रीय सभापति तथा उपसभापति, जिल्ला सभापतिसहित पाँच जनासम्म प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। प्रदेश समिति, विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि स्वतः प्रतिनिधि बनेका छन्।

संघीय नेतृत्व मञ्चका केन्द्रीय सदस्य, केन्द्रका ३८ विभागका सदस्य तथा निर्वाचन, अनुशासन र लेखा आयोगका प्रतिनिधिहरूलाई समेत महाधिवेशनमा सहभागी गराइएको छ।

स्थानीय तहका आधारमा गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। साथै, प्रदेश तथा जिल्ला सम्पर्क विभागका प्रतिनिधि, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरू तथा पार्टीमा सक्रिय अन्य सदस्यहरूलाई पनि महाधिवेशन प्रतिनिधिमा समावेश गरिएको छ।

रास्वपले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व, संगठन संरचना र नीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।