प्रतिनिधिसभामा आज चार अध्यादेश स्वीकृतिका लागि पेश हुँदै

पालिका संचारकर्मी
५ असार २०८३, शुक्रबार १२:०६

काठमाडौं । सरकारले ल्याएका आठमध्ये चार वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभामा स्वीकृतिका लागि पेश हुने भएका छन्। संसद्को चालु अधिवेशन सुरु हुनुअघि जारी गरिएका अध्यादेशमध्ये सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन लागिएको हो।

गत २८ वैशाखमा संघीय संसद्को अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका आठ अध्यादेशमध्ये चार वटा अध्यादेशलाई आजको बैठकमा स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ।

सरकारले संसद् अधिवेशन नरहेका बेला संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरेको थियो।

आजको सम्भावित कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।