बागमती प्रदेशको सबैभन्दा ठूलो प्रादेशिक खेल आजदेखि : १५ खेल विधामा प्रतिस्पर्धा हुँदै
हेटौंडा, असार ३ गते । बागमती प्रदेशको सबैभन्दा ठूलो प्रादेशिक खेल महोत्सवका रूपमा रहेको तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडा उपमहानगरपालिका–६ गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानमा प्रतियोगिताको उद्घाटन कार्यक्रम आयोजना गरिएको छ। तयारी अपुग भएपछि जेठ २४ गतेका लागि तय गरिएको प्रतियोगिता असारको पहिलो सातासम्म सारिएको थियो।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकहरूको सहभागिता रहनेछ। परिषद्का अनुसार २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियल गरी कुल ४ हजार १ सय ६१ जना प्रतियोगितामा सहभागी हुनेछन्।
प्रतियोगिताका लागि प्रदेश सरकारले १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतियोगितालाई आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, नयाँ खेल प्रतिभाको खोजी तथा प्रदेशस्तरीय खेलकुद विकासको आधारका रूपमा लिइएको छ।
केही खेल पूर्वाधार निर्माण कार्य अझै सम्पन्न नभए पनि उपलब्ध संरचना र स्रोत–साधनको अधिकतम उपयोग गर्दै प्रतियोगिता सञ्चालन गरिने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
प्रतियोगितामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिससहित १५ खेल विधा समावेश गरिएको छ। यी खेलका अधिकांश प्रतिस्पर्धा हेटौंडामा हुनेछन्।
यस्तै महिला क्रिकेट र कराँतेका खेल चितवनमा आयोजना गरिनेछन् भने भलिबल, पौडी, उसु र जुडोका प्रतिस्पर्धा काठमाडौं र ललितपुरमा सञ्चालन हुनेछन्।
प्रदेशभरका खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले बागमती प्रदेशको खेल क्षेत्रलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 







