विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस आज मनाइँदै

पालिका संचारकर्मी
३ असार २०८३, बुधबार ११:५५

असार ३ -‘चरन क्षेत्र पहिचान, सम्मान र पुनःस्थापना’ भन्ने नारासहित आज विश्वभर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ मा जुन १७ लाई मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

मरुभूमिकरण, भूमि क्षयीकरण र खडेरीका बढ्दो चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाइने गरिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भूभागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्रायः उपेक्षित पारिस्थितिक प्रणालीमध्ये एक हुन्। खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधताको संरक्षण तथा जलवायु अनुकूलनमा चरन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताइएको छ।

विश्वभर करिब दुई अर्ब मानिसको जीविकोपार्जन चरन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पशुपालक तथा आदिवासी समुदायहरू यसमा विशेष रूपमा निर्भर रहेका छन्।

राष्ट्रसंघले विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरणको चपेटामा परिसकेको जनाएको छ। यसले खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता, जलवायु सहनशीलता तथा ग्रामीण समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।

दिवसका अवसरमा विश्व समुदायलाई चरन क्षेत्रका परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा यसको संरक्षण र पुनःस्थापनाका लागि लगानी बढाउन आह्वान गरिएको छ। विशेषज्ञहरूले दिगो भूमि तथा जल व्यवस्थापन र खडेरीपूर्व तयारीमा आधारित पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।