भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, इलामका उद्योग आजदेखि बन्द

पालिका संचारकर्मी
१ असार २०८३, सोमबार १३:४४

भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। निर्यात प्रक्रिया जटिल बनाइएपछि बजार अभाव झेलिरहेका उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन्।

नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया निर्यातमा ठूलो असर पारेको छ। भारतीय भन्सारमा चियाको नमुना परीक्षणका लागि पठाउनुपर्ने र त्यसको प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने प्रक्रियाले आयातकर्ताहरू नेपाली चिया खरिद गर्न अनिच्छुक बनेका छन्।

संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय आयातकर्ताहरूले परीक्षण प्रक्रियाको झन्झट र जोखिमका कारण नेपाली चिया लिन छाडेको बताए। उनका अनुसार बजार ठप्प भएपछि उत्पादित चिया गोदाममै थन्किएको छ भने उद्योग सञ्चालन गर्ने आधारसमेत कमजोर बनेको छ।

हाल इलामका पहाडी क्षेत्रमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरू बन्द भइसकेका छन्। तराई क्षेत्रमा रहेका सीटीसी चिया उद्योगहरू पनि ४ असारदेखि बन्द हुने तयारीमा छन्।

व्यवसायीहरूका अनुसार भारत पुगेको करिब दुई लाख किलो चिया आयातकर्ताको गोदाममै रोकिएको छ भने निर्यात अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै थन्किएर बिग्रने अवस्थामा पुगेको छ।

नेपालमा इलामबाट वार्षिक ६५ लाख किलो र झापाबाट करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ। उत्पादित चियामध्ये झण्डै ९० प्रतिशत भारतमा निर्यात हुँदै आएको छ।

उद्योग बन्द भएपछि पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग प्रत्यक्ष प्रभावित भएका छन्। यसले हजारौं मजदुर तथा हरियो चिया पत्ती बिक्री गर्ने किसानको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ।

उद्योगीहरूले चिया क्षेत्र संकटमा पर्दासमेत सरकारले प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो गरेका छन्। यद्यपि समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद भइरहेको र छिट्टै निकास निस्कने अपेक्षा गरिएको उनीहरूको भनाइ छ।